३ आश्विन २०८१, बिहिबार 1726784226
राजनीति

कांग्रेस र माओवादी कार्यकर्ताबीच कुटपिट

रुकुम पश्चिम -रुकुम पश्चिममा चुनाव प्रचारप्रसारका क्रममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच कुटपिट भएको छ।त्रिवेणी गाउँपालिकामा बिहीबार बिहान दुबै पक्षका कार्यकर्ताबीच ढुंगा हानाहान र कुटपिट भएको हो।

डिएसपी विष्णुप्रसाद सोतीका अनुसार घटनास्थलमा प्रहरी परिचालन गरिएको थियो।त्रिवेणी गाउँपालिका अध्यक्ष उम्मेदवार अमरसिंह खड्का सवार गाडीमाथि माओवादी कार्यकर्ताले आक्रमण गरेको कांग्रेसको दाबी छ। त्रिवेणी ९ बाट वडा नम्बर ५ जाने क्रममा ढुंगा प्रहार भएको थियो।

घटनामा ६ जना सामान्य घाइते छन्।

माओवादीले भने जिल्ला कमिटी सदस्य चुडामणी बस्नेतको घरमा कांग्रेसले तोडफोड र ढुंगा हानेको दाबी गरेको छ। एकअर्काविरूद्ध ढुंगा हानाहानको खबर आएपछि प्रहरी पठाइएको थियो।‘आफ्ना उम्मदेवार चढेको गाडीमा माओवादीले ढुंगा हानेको कांग्रेसको दाबी छ, माओवादीले पनि जिल्ला कमिटी सदस्यको घर कांग्रेस कार्यकर्ताले तोडफोड गरेको भनेको छ। हामी सत्यतथ्य बुझ्दैछौं,’ डिएसपी सोतीले भने।

जिल्लाका ६ पालिकामध्ये चार पालिकामा कांग्रेस र नेकपा एमालेले चुनाबी तालमेल गरेका छन्।

तर त्रिवेणी गाउँपालिकामा भने सबै दलहरु एक्ला(एक्लै प्रतिस्पर्धामा छन्। झडप भएको वडामा भने कांग्रेस र एमालेका बीचमा चुनावी तालमेल छ।