४ आश्विन २०८१, शुक्रबार 1726881321
Banner

प्रचण्ड भिजेका मुसा हुन्, छोरी जिताउन हिडेका छन् : अध्यक्ष ओली

कैलाली – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भिजेको मुसाको संज्ञा दिनुभएको छ ।

आज कैलालीको बर्दगोरिया गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै पूर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले आफ्नी छोरीलाई चुनाव जिताउन प्रचण्ड लागि परेको बताउनुभयो ।

हिजो प्रधानमन्त्री हुँदा शेरजस्तो देखिएका प्रचण्ड अहिले भिजेको मुसो जस्तै भएको अध्यक्ष ओलीले बताउनु भयो । गठबन्धन बनाउनुको अर्थ आफ्ना आफन्तको व्यवस्थापन मात्र भएको भन्दै अध्यक्ष ओलीले प्रचण्डलाई आफ्नी छोरीको बाहेक अरुको चिन्ता नभएको बताउनुभयो ।

उहाँले कुनै गन्तव्य नभएको गठबन्धनको उद्देश्य सरकारमा पुग्ने र आफन्त नातागोताको व्यवस्थापन गरेर बाँडिचुँडी खानेमात्र रहेको आरोप लगाउनुभएको छ ।

ओलीले भन्नुभयो, ‘यो परमादेशी गठबन्धन कसरी बनेको थियो भन्ने सबैलाई थाहा छ । २३ सिट ल्याएको कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवा ढोडका लौरा टेकेर हिँड्न खोज्दै हुनुहुन्छ । यो परमादेशी सरकार हो, संसद र संवैधानिक प्रक्रियाबाट बनेको होइन । यो अन्तैबाट बनेका सरकारलाई हामीले बिदाई गर्ने सन्देश यस स्थानीय तहको निर्वाचनले दिनुपर्छ ।’

अध्यक्ष ओलीले मुलुकमा अहिले एमाले एकातिर र गठबन्धन अर्कोतिर रहेको भन्दै कांग्रेसले घोषणापत्रमा एमालेले गरेका विकासको विरोध गरेको आरोप लगाउनुभएको छ । उहाँले कांग्रेसको घोषणपत्रमा आफ्ना सभापतिको नाम आठ ठाउँमा लेखेको र एमाले अध्यक्षको नाम ४२ ठाउँमा लेखेर गालीगलौज गरेको बताउनुभएको छ ।