४ आश्विन २०८१, शुक्रबार 1726867271
विश्व

विदेशी मुद्राको सङ्कट बढ्दै गएका कारण श्रीलङ्कामा डिजेल अभाव

काठमाडौं- श्रीलङ्कामा विदेशी मुद्राको सङ्कट बढ्दै गएका कारण डिजेलको अभाव भएको त्यहाँको ऊर्जामन्त्रीले बताएका छन् ।

ऊर्जामन्त्री कञ्चना विजेसेकेराले संसद्लाई सम्बोधन गर्दै मुलुकमा दैनिक ४ हजार मेट्रिक टन डिजेल आवश्यक पर्ने भएपनि सरकारी स्वामित्वको सिलोन पेट्रोलियम कर्पोरेशनले अहिले दैनिक १ हजारदेखि १ हजार ५ सय मेट्रिक टन मात्रै निकासी गरिरहेको बताए ।

अहिले मुलुकमा पेट्रोलको अभाव नभएको भन्दै दैनिक तीन हजार मेट्रिक टन पेट्रोल आपूर्ति हुने गरेको र बुधबार राति ४० हजार मेट्रिक टन पेट्रोल बोकेको जहाज श्रीलङ्का आइपुगेको उनले बताए ।

श्रीलङ्काले फेब्रुअरीदेखि डिजेल अभावको सामना गरिरहेको छ । यसका कारण दैनिक घण्टौँसम्म बिजुली कटौती हुने गरेको छ । अर्थमन्त्री अली साब्रीले बुधबार श्रीलङ्कासँग प्रयोगयोग्य विदेशी सञ्चितीमा ५ करोड अमेरिकी डलरभन्दा कम रहेको बताएका थिए ।