काठमाडौं । निजी लगानीमा म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । हाइड्रो इम्पाएर प्रालि प्रवर्द्धक रहेको आयोजनाले सिम्कोश दोभानको बाँधदेखि घिम्लेटी जोड्ने चार किलोमिटर लामो सुरुङ निर्माणका लागि आज गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रेशमबहादुर जुुग्जालीले शिलान्यास गरेका छन् ।
कूल ७ अर्ब ६९ करोड ९४ लाख ९५ हजार रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा प्रवर्द्धक र आमनागरिकको सेयरबाहेक सिद्धार्थ बैंक, नेपाल एसबिआई बैंक, सिटिजन्स बैंक, एभरेष्ट बैंक र नबिल बैंकको सहवित्तीयकरणमा पाँच अर्ब ३४ करोड ८८ लाख ९८ हजार रुपैयाँ लगानी रहने छ ।
७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी हुने गरी लगानी संरचना बनाइएको छ । रहने आयोजना निर्माण भएपछि वार्षिक २१ करोड ५० लाख युनिट बिजुली उत्पादन हुने जनाइएको छ । आयोजना प्रमुख रमेश सुवेदीले आगामी २०८५ चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित बाँध, सुरुङ र विद्युत्गृह निर्माणको काम सुरु भएको बताए । “पहुँचमार्गलगायत पूर्वाधार निर्माण सकेर आयोजनाको मुख्य संरचना निर्माण थालिएको छ”, उनले भने, “बाँध, नाउरा र आउटलेटको अडिटबाट सुरुङ निर्माण थालिएको हो ।”
माथिल्लो म्याग्दीले अपर म्याग्दी–१ र म्याग्दीखोला जलविद्युत् आयोजनासँग सहकार्य गरेर मालिका गाउँपालिका–७ बिमको भारवाङदेखि कल्लेनी, छहरी, खारा, खाम्ला, नाउरा हुँदै बगर गाउँ नजिकैसम्म करिब २१ किलोमिटर पहुँचमार्ग निर्माण गरेको छ ।
म्याग्दी नदीमाथि ५० र ३० मेट्रिक्टन क्षमताको दुई वटा बेलिब्रिज जडान गरेर आयोजना निर्माणस्थललाई पहुँचमार्गले जोडेको आयोजनाका प्रबन्ध निर्देशक जितबहादुर घर्तीले बताए ।
सिन्कोस र म्याग्दी खोलाको दोभानभन्दा एक सय ३० मिटर तल म्याग्दी खोलाको दायाँ किनारमा बाँध र बाँया किनारमा भूमिगत बालुवा थिग्राउने पोखरी निर्माण थालिएको छ ।

चार किलोमिटर लामो सुरुङबाट ल्याइने पानी तीन सय दशमलव ८८ मिटर अग्लो हेडबाट विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिने छ । आउटलेटदेखि विद्युतगृहसम्म सात सय ९७ दशमलव ९६ मिटर लामो पेनस्टक पाइप जडान गरिनेछ ।
उत्पादित विद्युत् विद्युतगृहदेखि नौ दशमलव दुई किलोमिटर दुरीको एक सय ३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनमार्फत डाडाखेत सवस्टेसनमा जोडिनेछ ।
शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य जुग्जालीले माथिल्लो म्याग्दीलगायत यस क्षेत्रमा निर्माणाधीन आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोडिने बताए। त्यसका लागि नेपाल विद्युत् प्राधिकरणमार्फत मालिका गाउँपालिका–७ डाडाखेतमा १३२ केभी क्षमताको सवस्टेशन र त्यहाँदेखि राहुघाट जोड्ने प्रसारण लाइन निर्माणकार्य अन्तिम चरणमा रहेको उहाँले जानकारी दिए ।


