काठमाडौं-नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका-३ स्थित बेलासपुरमा स्थानीय दुई समूहबीचको झडपले अवस्था तनावग्रस्त बनेको छ। आज बिहान ९ बजे भएको झडपमा प्रहरी र स्थानीय गरी करिब १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले केही राउण्ड हवाई फायर समेत गरेको छ।

हिजो (सोमबार) बेलुकी स्थानीय दुई व्यक्तिबीच हातपात भएको थियो। सोही विषयलाई लिएर आज तनाव बढेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। स्थानीय दुई समूदायबीच भएको झडपलाई नियन्त्रण लिन रुपन्देहीबाट पनि थप प्रहरी खटाइएको छ।
तीन महिनाअघि सो गाउँका युवायुवतीबीच भागी विवाह भएको थियो । सोही विषयलाई लिएर केटी पक्षले केटाका बुवालाई गत माघमा कुटपिट गरेका थिए ।सोही घटनाका कारण उनीहरूबीच द्वन्द्व बढेको थियो । त्यतिबेला वडा कार्यालयको पहलमा जिल्ला प्रहरी कार्यालयमा मिलापत्र पनि भएको थियो । तर, सोमबार राति फेरि केटी पक्षका आफन्तले केटाका भाइलाई बाटोमै रोकेर कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका युवकको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ।
यो घटनापछि गाउँलेहरू दुई पक्षमा विभाजित भइ कुटपिटमा उत्रिएका थिए । प्रहरीले बल प्रयोग गरेर अहिले स्थिति नियन्त्रणमा लिएको छ


