काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउनुभएको छ। बैठक भोलि बेलुका ५ बजे बालुवाटारमा बस्ने तय गरिएको कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिनुभएको छ।
उहाँका अनुसार बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम र सरकार सञ्चालनका विषयमा छलफल हुनेछ।

संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी हुनुहुन्छ। कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा सहभागी रहनुहुनेछ।
सरकारले ल्याएको अध्यादेश राष्ट्रिय सभामा बहुमत नपुग्दा एक महिनादेखि अघि बढ्न सकेको छैन।
गत साता सत्तापक्षको बैठक बसेर प्रक्रिया अघि बढाउने तयारी गरिएको थियो। तर, राष्ट्रिय सभामा निर्णायक मानिएको जसपा नेपालले भूमि अध्यादेश फिर्ता लिनुपर्ने अडान राखेपछि सरकार अप्ठ्यारोमा परेको छ।
भोलिको बैठकमा अध्यादेशका विषयमा पनि छलफल हुने जनाइएको छ। प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले जसपा अध्यक्ष उपेन्द्र यादवलाई अध्यादेशबारे निर्णय पुनर्विचार गर्न आग्रह गरिरहेका छन्।


