काठमाडौं : नवलपरासीको पाल्हीनन्दन गाउँपालिकास्थित नन्दन तालको नाममा रहेको ११६ बिघाभन्दा बढी जग्गा अतिक्रमण भएको छ ।स्थानीयका अनुसार विगतमा तालको धेरै क्षेत्रमा जलाशय देखिन्थ्यो । ‘तालमा विभिन्न प्रजातिका माछा, जीवजन्तु रहन्थे । विभिन्न प्रजातिका चरा पनि तालमा आउने गर्थे । तालका छेउछाउमा गाईभैँसी, बाख्रा पनि चर्ने गर्थे’, पाल्हीनन्दन गाउँपालिका–६ निवासी लौहर चमारले भने । चमारका अनुसार तालमा माछा मार्न स्थानीयले दक्षिणतर्फको नाला खनेपछि तालको पानी बगेर सुक्दै गयो । सुक्खा भएको तालको जमिनमा केही जमिन्दारले खेती गर्न थालेका छन् । ‘अहिले ताल सुकेर खेतको रूपमा परिणत भएको छ । ताल सुकेसँगै तालको स्वरूप फेरिएको छ । तालको नाम निसानै मेटिएको छ’, उनले भने । नन्दन तालको जग्गा अतिक्रमण गरेपछि अहिले तालको चर्चा परिचर्चा हराउँदै गएको पाल्हीनन्दन गाउँपालिका–६ का वडाध्यक्ष कृष्णचन्द्र यादवले बताए ।
उनका अनुसार विगतमा ताल ठेक्का लाग्ने गर्थ्यो । ‘माछा मार्न नन्दन ताल ठेक्का हुन्थ्यो । त्यसपछि कात्तिक, मंसिर महिनादेखि माछा मार्ने काम सुरु हुन्थ्यो’, यादवले भने । अहिले केही हुनेखाने समुदायले नन्दन तालको जग्गा अतिक्रमण गरेर गरिबलाई अधिया भन्दै जोतभोग गर्न दिएका छन् । ११६ बिघाभन्दा बढी जग्गा नन्दन तालको नाममा दर्ता रहेको पाल्हीनन्दन गाउँपालिकाका अमिन हरेन्द्र यादवले बताए । यद्यपि, ऐतिहासिक नन्दन ताल संरक्षण तथा प्रचारप्रसार गर्नुका साथै अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि घरबास बनाएर स्थानीयलाई रोजगार दिने प्रयास थालिएको छ । तालको नक्सा बनाएर संरक्षणको अभियान अगाडि बढाएपछि नन्दन ताल अतिक्रमण गर्नेहरूले काममा अवरोध गर्ने प्रयास गरेको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताए । परासी सदरमुकामदेखि सात किलोमिटर दक्षिण सनई गाउँको नजिकै रहेको प्राचीन नन्दन तालको संरक्षणका लागि स्थानीय जनप्रतिनिधि लागिपरेका छन् ।


