६ आश्विन २०८१, आइतबार 1727060656
समाचार

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

काठमाडौँ — पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । शनिबार साँझ ७:३० बजे इच्छाकामना गाउँपालिकाको चोके खोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

मुग्लिनबाट नारायणगढतर्फ तीन किलोमिटरको दूरीमा पहिरो निरन्तर खसिरहेका कारण आज यातायात सञ्चालन हुने सम्भावना न्यून रहेको ट्राफिक प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक धर्म अधिकारीका अनुसार ठूलो पहिरो खसेका कारण आज पहिरो हटाउन असम्भव जस्तै छ ।

मुग्लिन हुँदै नारायणढतर्फ आउने सवारीसाधन मुग्लिनमा रोकिएका छन् भने नारायणगढबाट मुग्लिन हुँदै जाने सवारीसाधनलाई जुगेडीतर्फ नै रोकिएको छ । पहिरो हटाउन सुरु भएको प्रहरीले जनाएको छ ।