काठमाडौँ-इजरायली सेनाले गाजा पट्टीमा व्यापक आक्रमण गरिरहेको छ। गाजाको हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका प्रवक्ताका अनुसार पछिल्लो आक्रमणमा कम्तीमा ३४ प्यालेस्टिनीहरू मारिएको बीबीसीले उल्लेख गरेको छ। सो आक्रमणमा कम्तीमा ७० जनाभन्दा बढी घाइते भएका छन्।

इजरायल रक्षा बलले हमाससँग सम्बन्धित आतंकवादीलाई लक्षित गरेर आक्रमण गरिरहेको छ । जनवरी १९ मा युद्धविराम सुरु भएदेखि गाजामा हवाई आक्रमणको यो सबैभन्दा ठुलो लहर हो।
इजरायली प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र रक्षामन्त्री इजरायल काट्जले मंगलबार बिहान गाजा पट्टीमा आक्रमणको आदेश दिएका थिए।
हामसले बन्धकहरूलाई रिहा गर्न बारम्बार अस्वीकार गरेको, साथै अमेरिकी राष्ट्रपतिका दूत स्टीव विटकफ र मध्यस्थकर्ताहरूबाट प्राप्त सबै प्रस्तावहरूलाई अस्वीकार गरेकोले आक्रमणलाई निरन्तरता दिइएको इजरायलको भनाइ छ ।