काठमाडौं । एनएमबि बैंकद्वारा अन्तर्राष्ट्रिय निकायहरु (आइएफसी, बीआइआइ र मेटलाइफ) सँगको साझेदारीमा नेपालमै पहिलो पटक अमेरिकी डलर ६ करोड बराबरको नेपाली रुपैयाँ अंकित हरित वण्ड जारी गर्ने उद्देश्यका साथ साझेदारी पत्रमा हस्ताक्षर भएको छ ।

यो सहकार्यबाट जलवायु परियोजनामा संलग्न उद्यमहरूमा लगानी विस्तार गरी प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा गुणस्तरीय रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ । साथै, देशको ऊर्जा क्षेत्रको विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ । वण्डबाट उठाइएको रकम सौर्य ऊर्जा, विद्युतीय सवारी, हरित भवन तथा बायोमासजस्ता नवीकरणीय ऊर्जा परियोजनाहरूमा लगानी गरिनेछ ।
उक्त समझदारीपत्र हस्ताक्षर समारोहमा बैंकका संचालक समितिका अध्यक्ष मनोज कुमार गोयलले आफ्नो मन्तव्य राख्दै यस प्रयास मार्फत नवीकरणीय उर्जा लगायतका क्षेत्रहरुमा एक पारिवर्तनकारी फड्को मारिने विश्वास व्यक्त गरे ।
साथै, उनले एनएमबि बैंकको यस पहलले विदेशी पूँजीलाई स्वदेशमा भित्र्याई जलवायु क्षेत्रमा लगानी गर्दै उक्त क्षेत्रमा परेको पर्यावरणीय प्रभावलाई न्युनिकरण गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।


