काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु एक अर्ब २४ करोड ६५ लाख १३ हजार २८६ को बजेट प्रस्ताव गरिएको छ । आज नगरसभाको १६औँ अधिवेशनको बैठकमा आउँदो आवको वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो ।

नगरप्रमुख शान्तिरत्न शाक्यले वार्षिक नीति तथा कार्यक्रम र उपप्रमुख विमला सापकोटा दाहालले विनियोजन विधेयक र आर्थिक विधेयक प्रस्तुत गरेकी थिइन् । शाक्यद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूको ज्ञान, सीप र क्षमताको स्थानीय विकासमा उपयोग गर्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ ।
यस्तै नीति तथा कार्यक्रममा नगर क्षेत्रभित्र रात्रिकालीन व्यवसाय सञ्चालनार्थ सरोकारवाला पक्षहरूसँग आवश्यक समन्वय गरिने तथा किसान परिचयपत्रलगायत व्यवस्था उल्लेख छ । दाहालको आर्थिक विधेयकमा भने बनेपा नगरमा करको दायरामा नआएका करदाताको हकमा आर्थिक वर्ष २०७४/७५ लाई आधार वर्ष मानी व्यवसाय कर असुल गरिने उल्लेख गरिएको छ ।
बिहीबार धुलिखेल नगरले आफ्नो १७औँ सभामा रु एक अर्ब १८ करोड ४८ लाख ५० हजार बराबरको बजेट पारित गरेको थियो ।


