काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कोरियाली सीप, प्रविधि, अनुभवलाई नेपालले अनुसरण गर्नुपर्ने बताएका छन् । ललितपुरमा बिहीबार हामी एप सार्वजनिक कार्यक्रममा बोल्दै उनले छोटो समयमा नै कोरियाले फड्को मारेको र त्यसमा नेपाली कामदारहरूको समेत योगदान रहेको बताएका हुन् ।
उनका अनुसार कोरियासहित विभिन्न मुलुकमा गएर नेपालीले काम गरिरहेका छन् । ती राष्ट्रको आर्थिक विकासमा नेपालीहरूले महत्त्वपूर्ण योगदान पुर्याएको बताउँदै श्रममन्त्री भण्डारी ती देशले नेपालीको योगदानलाई कदर गर्नुपर्ने बताए ।
उनका अनुसार नेपाली श्रमिकले पनि नेपालमा फर्किसकेपछि विदेशको सीप, पुँजी, अनुभवलाई परिचालन गरी राष्ट्र समृद्ध बनाउन लाग्नुपर्छ । उनले विदेशमा नेपाली कामदारलाई फरक दृष्टिले हेरिन नहुने समेत बताए । ती राष्ट्रहरूले आफ्ना नागरिक सरह नेपाली कामदारलाई पनि सेवा सुविधा दिनुपर्ने मन्त्री भण्डारीले बताए ।


