काठमाडौं : एसीसी पुरुष यू–१६ इस्ट जोन कप एक दिवसीय क्रिकेटमा आज नेपाली टोलीले इन्डोनेसियाविरुद्ध खेल्दैछ। मलेसियाको क्वालालाम्पुरस्थित सेलेङ्गोर टर्फ क्लबमा हुने खेल बिहान पौने ८ बजे सुरु हुनेछ।

समूह ए मा अपराजित रहेको नेपाली युवा टोली लगातार तेस्रो जित निकाल्दै समूह चरणको शीर्ष स्थानमा उक्लन चाहन्छ।
समूह चरणको दुई खेलमा जित निकालेको नेपाल ४ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। समूह चरणमा खेलेको दुई खेलमध्य एक खेलमा जित र एक खेलमा हार भोगेको इन्डोनेसिया २ अंकसहित तालिकाको चौथो स्थानमा छ। समूह चरणको चार खेलमध्ये ३ खेलमा जित र १ खेलमा हार भोगेको सिंगापुर ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। तीन खेलमध्ये एक खेलमा जित र २ खेलमा हार भोगेको जापान २ अंकसहित तेस्रो स्थानमा छ। भुटान अंकविहीन रुपमा पुछारमा छ। समूह चरणको पहिलो खेलमा सिगांपुरलाई ६ विकेटले हराएको नेपाली टोलीले दोस्रो खेलमा जापानमाथि ९ विकेटको फराकिलो जित दर्ता गरेको थियो।
इन्डोनेसिया भने पहिलो खेलमा सिंगापुरसँग ९ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा भुटानलाई ९ विकेटले पाखा लगाएको थियो। समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध १ जुलाइमा खेल्ने तालिका छ। प्रतियोगितामा सहभागी नेपालसहित १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह बी मा आयोजक मलेसियासहित हङकङ, मालदिभ्स, थाइल्याण्ड र म्यानमार छन्। समूह चरणको शीर्ष दुईमा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।


