४ आश्विन २०८१, शुक्रबार 1726860207
Banner

‘एक महानगर र दुई उपमहानगरमा’ स्वतन्त्र उम्मेदवार अगाडी

देशभरका ७ सय ४२ स्थानीय तहमा मतगणना जारी रहँदा केही महत्वपूर्ण स्थानीय तहमा स्वतन्त्र उम्मेदवारहरूको सुरुवाती अग्रता छ । वर्षौंसम्म सत्तामा रहेका ठूला दलहरू नेकपा एमाले र नेपाली काँग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनलाई समेत पछि पार्दै लगातार अग्रता लिइरहेका छन् । अग्रता लिएका चर्चित स्वतन्त्र उम्मेदवारहरू हुन्, बालेन्द्र शाह उर्फ बालेन, मनोजकुमार साह र विदुर बस्नेत ।

बालेन सङ्‍घीय राजधानी भएको काठमाडौं महानगरपालिकाको प्रमुख पदका उम्मेदवार हुन् । युवा उम्मेदवार बालेनले नेकपा एमालेका उम्मेदवार केशव स्थापित र पाँच दलीय गठबन्धनको उम्मेदवार सिर्जना सिंहललाई पछि पारेका छन् । र, उनले लगातार मतान्तर बढाउँदै लगेका छन् । यो समाचार तयार पार्दासम्मको विवरणअनुसार बालेनको २१३ मत छ । स्थापितको १५९ र सिंहको १४८ मत छ । बालेनले अग्रता लगातार लिइरहेपछि समर्थकहरूले राष्ट्रियसभा गृह क्षेत्रमा खुसियालीस्वरुप नाराबाजी गरिरहेका छन् ।काठमाडौं महानगरपालिकापछि अर्को चर्चित स्वतन्त्र उम्मेदवारले अग्रता जारी राखेको उपमहानगरपालिका हो– जनकपुर उपमहानगरपालिका । मधेस प्रदेशको राजधानी रहेको यो उपमहानगरपालिकामा मनोजकुमार साहले पाँच दलीय गठबन्धन र एमालेका उम्मेदवारलाई लगातार पछि पारेका छन् ।उपमहानगरपालिकाको वडा नम्बर १ को ७ सय ८० वटा मतको गणना गर्दा साहले २ सय ५९ मत र नेकपा एमालेका उम्मेदवार शिवशंकर साह ‘हीरा’ ले १ सय ५ मत पाएका छन् । गठबन्धनका उम्मेदवार लालकिशोर साहको ३६ मत मात्र छ । अग्रता लिइरहेका साह काँग्रेसका विद्रोही उम्मेदवार हुन् । पार्टीले उनलाई कारबाही गरिसकेको छ । तर, प्रारम्भिक मत परिणाम सार्वजनिक भइरहँदा उनी अघि छन् । २०७४ सालको निर्वाचनमा उनी लालकिशोरको निकटतम प्रतिद्वन्द्वी थिए । जतिबेला लालकिशोर राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएका थिए । प्रदेश १ को धरान उपमहानगरपालिकामा पनि स्वतन्त्र उम्मेदवारले सुरुवाती अग्रता लिइरहेका छन् । वडा नम्बर–१ को १०० मत गणना गर्दा स्वतन्त्र उम्मेदवार हर्क साङपाङ ३३ मतसहित अग्रस्थानमा छन् ।उनलाई ३१ मतसहित काँग्रेस–माओवादी गठबन्धनका किशोर राईले पछ्याइरहेका छन् । २०७४ मा निर्वाचन हुँदा एमालेका तारा सुब्बा निर्वाचित भएका थिए । उनको निधन भएपछि भने उपनिर्वाचन २०७६ मा भएको थियो । त्यसबेला तिलक राई निर्वाचित भए ।