काठमाडौं, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मबोध र विवेकको उज्यालोतर्फ उन्मुख हुन आह्वान गरेका छन् ।
गुरु पूर्णिमाको अवसरमा बिहीबार सन्देश दिँदै प्रधानमन्त्री ओलीले पूर्वीय सभ्यताले गुरुलाई अन्धकारबाट प्रकाशमा लैजाने मार्गदर्शक पात्रका रूपमा चिनाउने परम्परा भएको उल्लेख गरेका छन् । उनले वर्तमान समयमा आत्मप्रकाश नै गुरु भइदिने स्पष्ट पारेका छन् ।
‘आज गुरु पूर्णिमा, यस दिनलाई महर्षि व्यास जयन्तीका रूपमा पनि लिइन्छ, हाम्रो प्राचीन पूर्वीय सभ्यताले आफ्नो अन्तरतम अस्तित्व चिन्न दृष्टि दिने व्यक्तिलाई गुरु भन्छ र संसारको बारेमा सिकाउनेलाई शिक्षक भन्छ’, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
प्रधानमन्त्री ओलीले गुरुलाई केवल बाह्य व्यक्ति नभएर आत्माभित्रको विवेकका रूपमा व्याख्या गरेका छन् । गुरुको काम अन्धकार हटाएर चेतनाको प्रकाश फैलाउने भएको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् । ‘गुरु अन्धकारबाट प्रकाशमा पुर्याउने र आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्’ प्रधानमन्त्री ओलीको धारणा छ ।
प्रधानमन्त्री ओलीले आजको दिनलाई केवल परम्परा पालनाको रूपमा नभई आत्मावलोकन र आन्तरिक सत्यको खोजीका रूपमा लिनुपर्ने धारणा राखेका छन् । ‘हामीलाई अरूमाथि प्रश्न गर्ने होइन, आफ्नो आन्तरिक सत्यमा प्रकाश दिने साक्षात् ‘दीप’ चाहिएको छ, त्यस्तो दीप भनेको विवेक हो,’ प्रधानमन्त्री ओलीको भनाइ छ ।
गुरु पूर्णिमा हिन्दू परम्परामा वेदव्यासको स्मृतिमा मनाइने विशेष पर्व हो । आजको दिन गुरुप्रति श्रद्धा व्यक्त गर्दै शिक्षालय, मन्दिर, आश्रम, संस्कृत पाठशाला र गुठी संस्थानमा विशेष पूजाआजा तथा सम्मान कार्यक्रम आयोजना हुने गर्छन् ।


