काठमाडौं । नेकपा (एमाले) कि नेतृ एवं पूर्वमन्त्री विद्या भट्टराईले अहिलेकै अवस्थामा केपी शर्मा ओली तेस्रो पटक पार्टी अध्यक्ष बन्न नसक्ने बताएकी छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पार्टीको विधानमा ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था कायमै रहेको बताएकी हुन् ।
‘फेरि विधान संशोधन नगरी केपी शर्मा ओली अध्यक्ष बन्न सक्नुहुन्न ? भन्ने प्रश्नमा उनले अहिलेकै अवस्थामा त्यो सम्भव नरहेको बताईन् । उनले भनिन्, ‘दुई कार्यकाल भनेकै छ त्यहाँ । दुई कार्यकाल भनेको हुँदा विधान संशोधन नगरीकन त्यसलाई त लागू गर्न सक्दैनौं नि । त्यो भएर विधान महाधिवेशनले नै छिनोफानो गर्ने हो । नेतृत्व कस्तो, अबको भाबी नेतृत्व कसरी विकास गर्ने भन्ने कुरा त्यसले नै छिनोफानो गर्छ ।’
साथै, उनले विधान महाधिवेशनमा उमेर हद तोकिनु उपयुक्त हुने बताईन् । उमेर नतोकिँदा नेतृत्व हस्तान्तरण र पुस्तान्तरण नहुने उनको मत रहेको छ । उमेरहद नराखिँदा युवा वर्गमा निराशा पैदा हुने र यसअघि ७० वर्ष उमेर हदका कारण विदा भएको नेताहरुको हकमा पनि अन्याय हुने उनको मत छ ।
‘उमेर नतोक्ने हो भने नेतृत्व हस्तान्तरण गर्ने कुरालाई हामीले समयमा गर्न नसक्ने रहेछौं । त्यो दुई कार्यकाल र उमेर भनेर राख्दियो भने चाहीँ, हरेक ठाउँमा उमेर छ त । उहाँहरुलाई हामीले सम्मान गर्ने कुरा, उहाँहरुको अनुभवलाई लिने कुरा, उहाँहरुलाई आदर गर्ने कुरा सधैं गर्नुपर्छ । पार्टीलाई परैबाट नेतृत्व दिने, एउटा क्रियाशील नेतृत्व चाहिँ उमेरभित्र हुनुपर्छ । यो आजको पनि सान्दर्भिक छ । त्यो हटाउने कुराले निराशा पैदा गर्छ । युवाहरु आउनका लागि हाम्रो पार्टीले निश्चित प्रतिस्पर्दाको कुरा गरेको छ ।
पुस्तान्तरणका लागि उमेर हद चाहिन्छ । अगाडि नै हामीले एमालेका नेताहरु धेरैलाई विदाइ गरिसक्यौं । वर्ष केही होइन भन्छौं भने त हिजो विदा गरेकालाई पनि ल्याउनुपर्यो । उसोभए उहाँहरुलाई चाहिँ हामीले अन्याय गर्यौं नि त । जसलाई ७० वर्ष उमेर भनेर विदा दियौं, उहाँहरुमाथि त अन्याय भयो नि त फेरि । मेरो भनाइ के हो भने कुनै पनि नियम हामीले बनायौं भने दुई पटक त्यसलाई हेरेर रिभ्यू गर्नुपर्छ,’– उनले भनिन् ।


