४ आश्विन २०८१, शुक्रबार 1726871066
Banner

भारतीय प्रधानमन्त्री लुम्बिनी आउने, स्वागतको तयारी पूरा

लुम्बिनी – बुद्धजयन्तीको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको तयारी पूरा भएको छ । २५६६ औं बुद्धजयन्तीको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा मोदीको लुम्बिनी भ्रमण हुन लागेको हो ।

मोदी भारतीय शहर कुशीनगरबाट हेलिकोप्टरमार्फत सोमबार मध्याह्न लुम्बिनी अवतरण गर्ने तालिका छ । मोदीले लुम्बिनीमा बुद्धजयन्तीको मुल समारोहमा सम्बोधन गर्नुहुनेछ । त्यस्तै भारतले निर्माण गर्न लागेको बिहारको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।

लुम्बिनीमा प्रधानमन्त्री देउवा र समकक्षी मोदीबीच दुईपक्षीय वार्ता हुनेछ । त्यसअघि परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटघाट हुनेछ । भेटघाट लुम्बिनीस्थित एक होटलमा हुने बताइएको छ ।

मोदी आउने तयारी पूरा गरिएको लुम्बिनी विकास कोषले जनाएको छ । विकास कोषका कोषाध्यक्ष सिद्धचरण भट्टराईले सजावटसहितका कामहरु सकिएको बताउनुभयो । मोदीले मायादेवी मन्दिरमा पुजाआजा गर्नुहुनेछ । त्यसका लाग मायादेवी मन्दिर, बुद्धजयन्तीको मुल समारोह हुने ५ हजार क्षमताका ध्यान केन्द्रलाई झकिझकाउ पारिएको छ । लुम्बिनीको २ नम्बरदेखि ९ नम्बर गेटतर्फको बटोलाई दुई देश र बौद्ध झण्डा राखेर सजाइएको छ । प्रवेशद्वारहरु निर्माण गरिएको छ ।

मोदीसहित ४ वटा हेलिकप्टर भारतबाट नेपाल आउनुहुनेछ । भारतीय सेनाले लुम्बिनीमा परीक्षण अवतरण गरिसकेको छ । ध्यान केन्द्र अगाडि ४ वटा नयाँ हेलिप्याड निर्माण भएका छन् ।

ध्यानकेन्द्रको उद्घाटन भने सोमबार विहान ९ बजे प्रधानमन्त्री देउवाले गर्ने कार्यक्रम छ । त्यसअघि देउवाले भैरहवास्थित अन्र्तराष्ट्रिय गौतमबुद्ध विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । बिहानै प्रधानमन्त्रीसहितको विशिष्ट पाहुनाको आवागन हुने विकास कोषले जनाएको छ ।

मोदी भ्रमणको तयारीका लागि परराष्ट्र मन्त्री खड्का र पर्यटन, नागरिक उड्ययन तथा संस्कृति मन्त्री प्रेम आले आज नै लुम्बिनी आउनुहुँदैछ ।

लुम्बिनीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षा संयन्त्रले आइतबार विहान भिभिआईपी भ्रमणको डेमोस्ट्रसन गरेका छन् । लुम्बिनीमा सुरक्षाका लागि भारतीयसहित आर्मी, शसस्त्र र नेपाली प्रहरी परिचालन गरिएको छ । भैरहवा विमानस्थलदेखि लुम्बिनीसम्म नै सुरक्षाकर्मी राखिएका छन् ।