७ जेष्ठ २०८३, बिहिबार 1779383794
Banner

एमाले अध्यक्ष ओली र विद्या भण्डारीको भेटवार्ता सकियो, के भयो छलफल ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको भेटवार्ता सकिएको छ ।

उनीहरूबीच आज साढे ३ बजेदेखि एमाले मुख्यालय च्यासलमा भेटवार्ता भएको हो । छलफलमा पछिल्लो समसामयिक विषयमै केन्द्रित रहेर कुराकानी भएको बुझिएको छ ।

उनीहरूबीच २ घण्टा एक्लाएक्लै छलफल भएको थियो ।

भेटमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत सहभागी थिए । भेट सकिए लगत्तै ओली र भण्डारी च्यासलबाट बाहिरिसकेका छन् । पूर्वराष्ट्रपति भण्डारीले पार्टीको राजनीतिमा आउने सार्वजनिक घोषणा गरेपछि एमालेको हालैको सचिलालय र पोलिटब्युरो बैठकमा यस विषयमा छलफल भएको थियो ।

यससम्बन्धमा पार्टी नेतृत्वसँग औपचारिक रूपमा आज छलफल भएको हो । अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीले आफ्नो घोषणाअघि पार्टीसँग कुनै छलफल नगरेको बताउँदै आएका थिए ।

एमालेको शनिबार सम्पन्न पोलिटब्युरो बैठकमा सदस्यहरूले गरिमामय पदमा रहिसकेको पूर्वराष्ट्रपतिले पार्टीको सक्रिय राजनीतिमा आउन नहुने विचार व्यक्त गरेका थिए । एमालेको केन्द्रीय कमिटीको बैठक सोमबारदेखि बस्दैछ ।