काठमाडौं । नबिल बैंक लिमिटेडले आजदेखि ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले आठ वर्ष अवधिको ऋणपत्र वार्षिक ७ प्रतिशत निश्चित ब्याजदरमा जारी गर्न लागेको हो । कुल तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १८ लाख कित्ता निजी स्थानमार्फत बाँडफाँड गरिनेछ ।

भने बाँकी ४० प्रतिशत अर्थात १२ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्काशनमार्फत बिक्री गरिनेछ । सर्वसाधारणमा बिक्री गरिने ऋणपत्रमध्ये पाँच प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ ।
ऋणपत्रमा न्यूनतम २५ कित्ताका लागि आवेदन दिन सकिनेछ भने अधिकतममा कुनै सिमा तोकिएको छैन । यस डिबेन्चरको निष्काशन छिटोमा साउन ९ गते र ढिलोमा साउन २० गतेसम्म खुला रहनेछ ।
नबिल बैंकको यो ऋणपत्र निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले लिएको छ ।


