काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले मधेसमा दशकौँदेखि अलपत्र पारिएका खानेपानी आयोजनाका कारण मरुभूमिकरण बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताएका हुन् । उनले मधेसवासीलाई खानेपानी, सिँचाइ र मल आपूर्तिको व्यवस्थापन तत्काल गर्न सरकारसँग माग गरे । सांसद शर्माले मधेसवासीले बोरिङ चलाएबापत आउने विद्युत् महसुल समेत सरकारले तिर्नुपर्ने बताए ।
उनले भने,‘मधेसमा करिब तीन दशकदेखि सुरु भएका खानेपानी आयोजनाहरू अधुरा छन् । ती पुरा नभएको कारण पनि पनि पानीको हाहाकार भएको छ । चुरेको विनाशका कारणले पनि आज यो सङ्कट उत्पन्न भएको छ । केही वर्षपछि यस्तै भयो भने मरुभूमि हुने भन्ने वैज्ञानिकहरूको भनाइ छ । किसानहरूले खानेनपानी, सिँचाइ र मल ल्याउन पनि नपाउने ? सीमा नाकाबाट मल ल्याउन दिइयाेस् ।’ उनले चुरे क्षेत्रको विनाश बढ्दै गए केही वर्षमा मरुभूमि हुने भन्दै चुरे संरक्षणप्रति सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ ।


