काठमाडौं, १० साउन । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले नेपाल सदैव शान्ति र अहिंसाको पक्षमा रहेको बताएका छन् । प्रवासी नेपाली मञ्च इजरायलको तेस्रो राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहलाई इजरायलबाट सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले हिंसा र आतंकवादको कुनै पनि प्रकारलाई नेपालले विरोध गर्ने स्पष्ट पारे ।
उपमहासचिव ज्ञवालीले इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका नेपालीहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै हालसम्म बेपत्ता रहेका विपिन जोशीको खोजीमा नेपाल सरकार र इजरायल सरकार सक्रिय रहेको जानकारी दिए । “म आशा गर्छु विपिन जोशी सकुशल फर्कने छन् र उहाँको बाटो कुर्दै गरेका परिवारजनले राहत महसुस गर्नेछन् । नेपाल सरकार उहाँहरूको साथमा छ,” उपमहासचिव ज्ञवालीले भने ।
उपमहासचिव ज्ञवालीले नेपाल र इजरायलबीच झण्डै ७० वर्षदेखि मित्रता रहेको स्मरण गराउँदै भने, “इजरायल आफ्नो सैन्य शक्तिमा भरोसा गरेर आफ्नो देश रक्षा गरिरहेको छ भने नेपाल शान्ति र कूटनीतिक माध्यमबाट राष्ट्रिय स्वाभिमान जोगाइरहेको छ।”
उपमहासचिव ज्ञवालीले इजरायलले नेपालीलाई रोजगारी दिएर गुन लगाएको बताए । नेपालले पनि इजरायललाई सहयोग गर्ने प्रतिबद्धता ज्ञवालीले जनाए । “नेपाल दक्षिण एसियामा पहिलो देश हो जसले इजरायललाई मान्यता दिएको हो,” ज्ञवालीले भने ।
ज्ञवालीले नेपालको संघीयता कार्यान्वयन गर्दै अधिकार जनतासम्म पुर्याउन सरकार प्रतिबद्ध रहेको बताउँदै, “संघीयताको उद्देश्य जनतासम्म सरकार नजिक पुर्याउनु हो,” भने । उनले देशमा आशावादका साथ अघि बढ्नुपर्ने र नकारात्मकतामा मात्र फसेर नबस्नुपर्ने जोड दिए ।
वर्तमान सरकारमा दुई ठूला दल एमाले र कांग्रेसबीच सहकार्यले देशमा राजनीतिक स्थिरता र आर्थिक सुधार आएको बताउँदै उपमहासचिव ज्ञवालीले दुवै दल प्रतिष्पर्धी मात्र नभई देश परिवर्तनका सहयात्री भएको स्पष्ट पारे । “यो सहकार्य राजनीतिक स्थिरताका लागि हो र अर्थतन्त्र विकासका लागि हो,” उनले भने ।
उपमहासचिव ज्ञवालीले अस्थिरता अन्त्य गर्न आगामी निर्वाचनमा एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको बताउँदै देशमा आशा र विश्वासको वातावरण बढ्दो रहेको उल्लेख गरे । उनले नेपालको प्रगति विश्वका लागि उदाहरणीय भएको र नेपाल कठिनाइ सामना गर्दै अघि बढ्न सक्ने राष्ट्र भएको उल्लेख गरे ।


