काठमाडौं, १७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचनदेखि नै विदेशबाट पनि मतदान गर्न पाउने व्यवस्था गर्न माग गरेको छ ।
निर्वाचन आयोगले आयोजना गरेको सर्वदलीय छलफल कार्यक्रममा रास्वपाले आगामी उपनिर्वाचनदेखि नै विदेशमा रहने नेपालीहरूका लागि मतदानको व्यवस्था सुनिश्चित गर्न माग गरेको हो ।
छलफलमा पार्टीका सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपिनकुमार आचार्यले आउँदो कात्तिक १७ गते हुने रुपन्देही–३ को उपनिर्वाचनबाटै विदेशबाट मतदान गर्ने प्रक्रिया पाइलट प्रोजेक्टका रूपमा सुरु गर्न निर्वाचन आयोगलाई आग्रह गरे । निर्वाचनका लागि अझै तीन महिना बाँकी रहेको र यो अवधि एउटा निर्वाचन क्षेत्रमा विदेशबाट मतदान गर्ने व्यवस्थाको प्राविधिक र कानुनी प्रक्रियाका लागि पर्याप्त समय रहेको उनले बताए ।
उनले भने, “निर्वाचन हुन अझै तीन महिना बाँकी रहेको र यो अवधि एउटा निर्वाचन क्षेत्रमा विदेशबाट मतदान गर्ने व्यवस्थाको टेक्निकल र लिगल सिस्टम स्क्र्याचबाटै बनाएर परीक्षण गर्ने पर्याप्त समय हो । नोट चल्ने तर भोट नचल्ने अवस्था अन्त्य गर्न आयोग साँच्चै नै गम्भीर हो भने यो उपनिर्वाचनबाटै आयोगले त्यस दिशामा आफूले गरेको काम देखाओस् । होइन, तीन महिनाको अवधिमा एउटा निर्वाचन क्षेत्रमा पनि विदेशबाट मतदान गराउने व्यवस्था गर्न आयोगले सक्दैन भने आयोगले स्पष्ट भनोस् हामी ८४ त के ८९ सालको निर्वाचनमा पनि विदेशबाट मतदानको व्यवस्था गर्दैनौँ वा गर्न सक्दैनौँ ।”


