काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँ कुसारीले कम उमेरका काम गर्न सक्ने एकल महिलाहरूलाई भत्ता दिने नभई सीप सिकाइ रोजगारी दिनुपर्ने बताएकी छन् ।
बिहीबारको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले एकल महिलाहरूको हकमा भत्ता दिने मात्रै काममा सरकार लालायित भएको आरोप लगाइन् ।
उनले एकल महिलाहरू २० वर्षदेखिका समेत रहेको भन्दै उनीहरूलाई काम सिकाएर रोजगारी दिन जरुरी रहेको बताइन् । त्यसमा सरकार गम्भीर हुन नसकेको उनले आरोप लगाइन् ।
उनले भनिन्,‘एकल महिलाको हकमा भत्ता दिन मात्रै लालायित भयौँ । एकल महिला त २० वर्षदेखिका पनि छन् । उनीहरू श्रम गर्ने उमेर हो । युवा बेलामा पनि एकल महिला हुँदा सीप दिएर रोजगारी दिने की भत्ता दिएर मात्रै उनीहरूलाई राख्ने । राज्य त्यसमा गम्भीर नभएको देखियो । ठोस उपलब्धि जिरो छ ।’


