४ आश्विन २०८१, शुक्रबार 1726866500
पालिका

पाल्पाको निस्दी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित ७ वटै वडामा एमाले विजयी

पाल्पा – पाल्पाको निस्दी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित ७ वटै वडामा नेकपा एमाले प्यानलसहित विजयी भएको हो ।

एमालेका मुक्त बहादुर सारु ६ हजार ६५२ मत प्राप्त गर्दै पुनः गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो । निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली काँग्रेसका गोविन्द प्रसाद अर्यालले ३ हजार ४६६ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी उपाध्यक्षमा एमालेकी तिरण कुमारी श्रेष्ठ ६ हजार ६३८ मतसहित निर्वाचित हुनुभएको छ । उहाँको प्रतिद्वन्द्वी गठबन्धनबाट नेकपा माओवादी केन्द्रका राम प्रसाद खत्रीले ८३० मत प्राप्त गर्नुभयो ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा निस्दीको वडा-१ र ७ मा कांग्रेस र बाँकी वडामा एमालेले विजयी हासिल गरेको थियो । यसपटक भने सबै वडामा एमाले प्यानलसहित विजयी भएको हो ।

गाउँपालिकाको वडा-१ मा यम बहादुर राना, २ मा फत्तेसिं दर्लामी, ३ मा नविन्द्र सोती, वडा ४ मा सन्तवीर सुनारी, ५ मा दुर्गा बहादुर सोमै, ६ मा मेखबहादुर सुनारी र वडा-७ मुक्त बहादुर पाटाको प्यानल विजयी भएको हो । यसअघि पाल्पाको पूर्वखोला गाउँपालिकामा एमालेले क्लिन स्वीप गरिसकेको छ ।