काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ इपा दोभानस्थित बागमती नदीमा सञ्चालित २२ मेगावाटको मान्डु जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन सुरु भएको छ । गत वर्ष असोज ११ र १२ गतेको भीषण बाढीले विद्युत्गृह सहितका संरचना बगाएको झण्डै ११ महिनापछि केन्द्रले उत्पादन सुरु भएको हो ।

बाढीबाट क्षति पुगेका संरचनाको पुनर्निर्माण सम्पन्न भएपछि विद्युत् उत्पादन सुरु गरिएको कम्पनीका वित्त निर्देशक सबल प्रधानले बताए । ‘आयोजनाबाट हाल ११ मेगावाट मात्र उत्पादन भइरहेको छ,’ उनले भने, ‘अर्को साताबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन सुरु हुने छ ।’
२०७५ सालमा कूल ४ अर्ब १ करोड ९४ लाख रुपैयाँको लगानीमा निर्माण पूरा भई केन्द्रले विद्युत् उत्पादन गर्दै आएको थियो । गत वर्षको बाढीले विद्युत् गृह, पेनस्टक पाइप, हेडरेस पाइप, बाँधसहितका संरचनामा क्षति पुगेको थियो । बाढीले १ अर्ब रुपैयाँ बराबरको भौतिक संरचना क्षति पुर्याएपछि केन्द्रलाई पुनर्निर्माण गरी सञ्चालनमा ल्याउन कम्पनीलाई निकै ठूलो चुनौतीको सामना गर्नुपरेको थियो ।


