काठमाडौँ, २९ साउन । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठकमा किसानले मलको हाहाकार झेलिरहेकाले यथाशीघ्र उपलब्ध गराउन सांसदहरुले ध्यानाकर्षण गराएका छन् । शून्य समयमा आफ्ना धारणा राख्दै सांसदहरुले रोपाइँको समयमा पनि मल उपलब्ध हुन नसक्दा किसान मारमा परेकाले सो विषयमा सम्बोधन हुनुपर्नेमा जोड दिएका हुन् । सांसद भिमप्रसाद आचार्यले भन्नुभयो, “दुःख गरेर बाली लगाएकामा मलको अभाव छ । खडेरीको मारमा थिए किसान अहिले मलको अभाव झेलिरहेका छन् । हरेक वर्ष मल अभाव किन हुन्छ ? समयमा यसको व्यवस्थापन किन गरिँदैन ? यसको सम्बोधन हुनुपर्छ ।”
सांसद रामहरि खतिवडाले देशभर मलको हाहाकार देखिएकाले समस्या हुन नदिन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले लम्पी स्किन रोगले देशभर वस्तुभाउ मरेर आक्रन्त पारेकाले यसमा पनि ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो । सांसद रामकुमार राई, सांसद रामशंकर यादव र सांसद रामकृष्ण यादवले मल अभाव हुन नदिन सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउनुभयो । यसैगरी सांसद भानुभक्त जोशीले वर्षायाम सुरुभएसँगै देशका विभिन्न सडकहरु अस्तव्यस्त देखिएकाले दुरदराजका सडकको स्तरोन्नतिको माग गर्नुभयो ।
सांसद महेशकुमार बर्तौलाले नेपाली महिला फुटबल टिम विश्व फिफा वरियतामा १३औँ स्थानमा उक्लेको उदाहरण दिँदै सरकारले खेलकुद क्षेत्रमा उचित र उपयुक्त वातावरण दिएमा उत्कृष्ट योगदान दिन सक्ने बताउनु्भयो । उहाँले खेलकुद क्षेत्रलाई विशेष ध्यान दिएर विकास गर्नुपर्ने धारणा राख्नुभयो । सांसद महेश बस्नेतले बर्सातको समयमा बाढीपहिरोले पूल बगाउने समस्या भएकाले चाँडो यातायात सञ्चालन गर्न बेलिब्रिज उपयुक्त हुने बताउँदै बेलिब्रिज निर्माण गर्न सक्ने इन्जिनियर उत्पादन गर्नुपर्ने बताउनुभयो । सांसद माधव सापकोटाले तातोपानी र केरुङ नाका तत्काल सञ्चालन गर्नुपर्ने नभए चाडपर्वको बेला महङ्गीको मार खेप्नुपर्ने सम्भावना रहेको उल्लेख गर्नुभयो ।


