काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले भ्रमणको औपचारिक निमन्त्रणा दिएको छ । प्रधानमन्त्री ओलीसँग आइतबार बिहान शिष्टाचार भेट गर्दै विदेश सचिव विक्रम मिस्रीले भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएका हुन् ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीको भ्रमणका लागि भारतले औपचारिक भ्रमणको निमन्त्रणा दिएको जानकारी दिए ।
‘प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवले शिष्टाचार भेट गर्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणका लागि पठाउनुभएको औपचारिक निम्तो उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिनुभयो,’ रिमालले भने, ‘भारतीय निम्तोलाई प्रधानमन्त्रीले स्वीकार्नुभएको छ । अब भ्रमणको तालिका, स्थान र एजेण्डासहितका विषय दुई देशको परराष्ट्र तहबाट टुंगाएर सार्वजनिक हुन्छ ।’
भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा करिब एक घण्टा भेटवार्ता भएको थियो ।


