दोलखा । देशकै सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रको उत्पादन बन्द गरेर बाँधभन्दा माथिल्लाे तटमा रहेको जलाशय सफाइ गरिएको छ । दोलखाको विगु गाउँपालिका–१ मा रहेको केन्द्रबाट हिउँदका लागि विद्युत् उत्पादन बढाउन विद्युत्गृह नै बन्द गरेर जलाशय सफाइ गरिएको हो । आइतबार बिहान ५ बजेदेखि साँझसम्म बाँध क्षेत्रमा पानी जम्मा गर्दै खोल्दै गरेर जलाशयमा जम्मा भएको बालुवा तथा गेग्रयान सफाइ गरिएको हो ।

‘लप्ची खोलामा निर्मार्णाधीन जलविद्युत् आयोजनाहरूले लामाबगरदेखिको माथिल्लो क्षेत्रमा सडक निर्माणका क्रममा निस्केको ढुङ्गा, माटो र पहिरो तामाकोसीमै आएकाले त्यो बगाएर माथिल्लो तामाकोसीकै बाँधमा ल्याएर भरिएको थियो । बाँध क्षेत्रमा बालुवा बगाउनका लागि स्काभेटर जस्ता कुनै पनि उपकरण सडक असुविधाले लैजान सक्ने अवस्था छैन । बाँध क्षेत्रमा बालुवाको तह बढेकाले बाँधको लम्माइ र पानी जम्मा हुने मात्रा समेत घट्दै गएको छ ।
आयोजनाको बाँध नदीको सतहबाट १४ मिटर उचाइमा पानी भर्ने गरी डिजाइन गरेको छ । समुद्री सतहबाट १९७९ मिटरसम्म मात्रै बालुवा गेग्रान भरिनु पर्नेमा अहिले त्यसभन्दा ४ मिटर माथिसम्म भरिएको छ । यसले अर्धजलाशययुक्त आयोजना नदी प्रवाही जस्तो हुने भएकाले विगतभन्दा २ पटक सफाइ बढी हुन लागेको हो ।
बाँधमा जम्मा भएको पानी फाल्ने जम्मा गर्ने गर्दा तामाकोसी नदीमा पानीको बहाव घटबढ भइरहन्छ । नदीको जलस्तर घटबढ हुँदा लामाबगरदेखि तल्लो तटीय क्षेत्रमा लुगा धुने, माछा मार्ने, मलामी जानेहरूका लागि सतर्कता अपनाउन सचना जारी गरेको थियो ।


