काठमाडौं । बाढीबाट क्षतिग्रस्त भएको १११ मेगावाट क्षमताको चिलिमे रसुवागढी जलविद्युत् आयोजनाभित्रको ढुंगा, गिट्टी, बालुवा झिक्ने काम धमाधम भइरहेको छ ।

गत असार २४ गते हिमताल फुटेर लेन्दे खोला (भोटेकोशी) मा आएको आकस्मिक बाढी चिलिमे रसुवागढीसहितका २५० मेगावाट क्षमताका विद्युत् आयोजनामा क्षति पुगेको थियो । सो बाढीबाट चिलिमे रसुवागढी जलविद्युतको पानी थुन्ने ड्याम र विद्युत् गृहमा क्षति पुगेको चिलिमे जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाबुराजा महर्जनले जानकारी दिए ।

उनका अनुसार घरभन्दा ठुला ठुला ढंगा माथिबाट खसेपछि सो आयोजनाबाट विद्युत् उत्पादन रोकिएको छ । गत पुसबाट व्यवसायिक विद्युत् उत्पादन गरेर राष्ट्रिय प्रसारणमा जोडिएको थियो । तर, ६ महिनामै आएको बाढीले सो आयोजनाको विद्युत् उत्पादन बन्द भएको सीईओ महर्जनले बताए ।

अहिले आयोजना क्षेत्रमा भएका ढुंगा, गिट्टी, बालुवा पन्छ्याउने काम भइरहेको छ । दैनिक ६० भन्दा बढी जनशक्ति र सोहीअनुसार स्काभेटरलगायत मेसिन प्रयोग गरेर ढुंगा बालुवा पन्छ्याउने र काम नलाग्ने बस्तु हटाउने काम भइरहेको उनले बताए । बाढीले आयोजनामा गरेको क्षतिको मर्मत गरेर चाँडै विद्युत् प्रवाह गरिने उनले जानकारी दिए ।

रसुवाको केरुङमा रहेको चिलिमे रसुवागढी जलविद्युतको मुख्य सेयर होल्डरको रुपमा चिलिमे जलविद्युत कम्पनी रहेको छ । जनताको लगानीसमेत रहेको यो आयोजना चीनको सीमानजिक छ । जसकारण गत असारमा आएको बाढी सुरुमै यही आयोजनामा पसेको थियो । बाढीबाट अन्य जलविद्युत्को तुलनामा चिलिमे रसुवागढी जलविद्युतको धेरै क्षति भएको सीईओ महर्जनले बताए । उनका अनुसार सवा एक अर्ब क्षति भएको अनुमान गरिएको छ । अब पुनर्निमाणका लागि सवा एक अर्ब लाग्ने र यसका लागि बीमाबाट रकम जुटाउने उनले बताए ।

आगामी पुसबाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ अहिले पुनर्निर्माणको काम भइरहेको छ उनले भने। गत मंसिरदेखि असारसम्म सो आयोजनाले दैनिक २४ लाख युनिट विद्युत् उत्पादन गरेको थियो ।





