काठमाडौं, ३ साउन । अमेरिकी विदेश मन्त्रालयले अमेरिकी कानून उल्लंघन गर्ने र निर्धारित अवधिबाट बढी समय बस्ने ६ हजारभन्दा बढी विदेशी विद्यार्थीको भिसा रद्द गरेको छ ।
मन्त्रालयका अनुसार यीमध्ये धेरैजसो लागूपदार्थ सेवन गरी गाडी चलाउने, चोरी तथा आपराधिक घटनामा संलग्न रहेको बताइएको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार ६ हजार भिसामध्ये ४ हजार भिसा कानून उल्लंघनका कारण रद्द गरिएका छन् । त्यसैगरी, २०० देखि ३ सय भिसा आईएनए–थ्रीबी अनुसार आतंकवादसँग जोडिएको घटनाका कारण रद्द गरेको विदेश मन्त्रालयले जनाएको छ ।
यो कदम ट्रम्प प्रशासनको कडा आप्रवासी नीति अन्तर्गत आएको हो, जसअन्तर्गत विदेशी विद्यार्थीसँग पनि कडा व्यवहार गरिएको बीबीसीले जनाएको छ । ट्रम्प प्रशासनले प्यालेस्टाइनको समर्थनमा प्रदर्शन गर्ने केही विद्यार्थीविरुद्ध पनि कारवाही गरेको छ । उनीहरूमाथि यहूदीविरोधी व्यवहार गरेको आरोप लगाइएको छ ।


