काठमाडौं । संघीय संसद्का विपक्षी दलहरूले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने सत्तारूढ दलहरूको प्रयासको सशक्त विरोध गर्ने निष्कर्ष निकालेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आज बसेको बैठकले यस्तो निष्कर्ष निकालेको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

उनका अनुसार नेपाली कांग्रेस र नेकपा एमालेले आज बिहानैदेखि उपसभामुख हटाउने तयारीस्वरूप सांसदहरूसँग हस्ताक्षर संकलन सुरु गरेपछि विपक्षी दलहरू विरोधमा उत्रिएका हुन्।
“विपक्षी दलका हैसियतले हाम्रो अस्तित्वमाथि आक्रमण गरिएको छ। यसअघि पनि यस्तो प्रयास भएको थियो,” पाण्डेले भने, “संवैधानिक परिषद्को अवस्था बिगार्ने प्रयासप्रति सशक्त रूपमा प्रतिवाद गर्छौं। विपक्षीहरूको साझा निष्कर्ष यही हो।”
पाण्डेले उक्त विषयलाई भोलि बस्ने प्रतिनिधिसभा बैठकमा पनि उठाइने जानकारी दिए।
“भोलि सदनमा यो विषय उठ्छ,” उनले भने।
बैठकका क्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार निरंकुशतातर्फ उन्मुख भएको आरोप लगाएका थिए। उनले विपक्षी दलहरूको आवाज दबाउने गरी सरकारले कदम चालिरहेको भन्दै चेतावनी पनि दिएका थिए।


