काठमाडौँ-नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीको पुरै ध्यान विधान महाधिवेशनमा केन्द्रित भएको बताउनुभएको छ। नेकपा एमाले मधेस प्रदेशले विधान संशोधनको लागि बर्दिबासमा आयोजना गरेको सुझाव सङ्कलन बैठकमा बोल्दै महासचिव पोखरेलले विधान महाधिवेशनमा विधान संशोधनका लागि केन्द्रको प्रस्ताव तलसम्म पठाइसकिएकोले त्यसमा आवश्यक सुझाव दिन आग्रह गर्नुभयो।

पार्टीमा उमेरहद, कार्यकाल र पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्कने कि नफर्कने भन्ने विषय पार्टीले टुङ्ग्याइसकेकोले अब त्यसमा बहस आवश्यक नरहेको उहाँले स्पष्ट पार्नुभयो।अब नेकपा एमालेको राष्ट्रिय गन्तव्य समृद्ध नेपाल, सुखी नेपाली भएको महासचिव पोखरेलले बताउनुभयो। अब यो पार्टीका आकाङ्क्षा मात्र होइन लक्ष बन्नु पर्नेमा उहाँले जोड दिनुभयो।
मुख्य नेतृत्वको वरिपरि सबै केन्द्रित रहनु पर्ने बताउँदै महासचिव पोखरेलले बहुपदीयको अर्थ बहुगुट हुनु नभएको उहाँले स्पष्ट पार्नुभयो। पार्टीको नीति र कार्यक्रम प्रति सबैको प्रतिबद्धता तथा नेतृत्व प्रतिको अधीनस्थताले पार्टीलाई बलियो बनाउने उहाँले बताउनुभयो। पार्टीलाई सबल बनाउने हो भने सिङ्गो पार्टी नेतृत्वको वरिपरि हुनु पर्दछ’, महासचिव पोखरेलले भन्नुभयो ।
पार्टीलाई बहुसङ्ख्यक जनताको माझमा पुर्याउन पार्टीमा दुई खालका सदस्यताको प्रस्ताव ल्याइएको महासचिव पोखरेलले बताउनुभयो। ‘चुनावका बेलमा काम नलाग्ने, नेता कार्यकर्ताको कुनै अर्थ छैन, अघि पछि एमाले हुने, चुनावको बेलमा कता भोट हाल्छ भन्ने ठेगान नहुने नेता कार्य-कर्ताको के अर्थ ?’, महासचिव पोखरेलले भन्नुभयो ।
राजनीतिक संघर्षको केन्द्रिय थलो निर्वाचन भएको बताउँदै अब चुनावमा काम लाग्ने नेता, कार्यकर्ता र पार्टी बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । त्यसकै लागि एमालेले पार्टी सदस्य र संगठित सदस्यको अवधारणा ल्याएको महासचिव पोखरेलले बताउनुभयो ।
अहिले पार्टी र पार्टी नेतृत्वको विरुद्ध चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको उहाँले बताउनुभयो। पार्टी भित्रबाट नभएर पार्टी बाहिरकाले पार्टीको विरोध गरिरहेका उहाँले बताउनुभयो। ‘एमालेको सबैभन्दा चर्को विरोध नेकपा एमाले देशभक्त भएको मन नपराउनेले गरिरहेका छन्’, उहाँले भन्नुभयो।
मधेस बनाउनको लागि मधेस प्रदेश र मधेसका स्थानीय तहमा एमाले नेतृत्वको सरकार आवश्यक रहेको उहाँले बताउनुभयो । ‘केन्द्र सरकार र प्रदेश सरकारले मात्र पुग्दैन, तपाईँहरू सबै नेता जुटे चुनाव जितिन्छ, जुटे जितिन्छ, फुटे हारिन्छ’, उहाँले भन्नुभयो।
पार्टीको महाधिवेशनमा पार्टीलाई कसरी निर्णायक शक्ति बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरिने उहाँले बताउनुभयो । मिसन २०८४ लाई केन्द्रित गरी पार्टीको अभियान अघि बढ्ने महासचिव पोखरेलले स्पष्ट पार्नुभयो।
लोकप्रिय हुनुको अर्थ राजनीतिमा सफल हुनु नभएको उहाँले बताउनुभयो। राजनीति लोकप्रियताले मात्र चल्ने नभई विचार, सिद्धान्त र आदर्शबाट चल्ने महासचिव पोखरेलले बताउनुभयो । लोकप्रियताका माध्यमबाट चर्चामा आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति ठगीमा संलग्न भएकै कारण जलमा पुगेको महासचिव पोखरेललेको भनाइ छ । ‘६ वटा सहकारीबाट पैसा लिएर दुरुपयोग गरेको प्रमाण फेला परेपछि रास्वपा अध्यक्ष रवि लामिछाने अहिले जेलमा रहेका उहाँले स्पष्ट पार्नुभयो। रविको आफ्नै कर्मका कारणले अहिले उनी थुनामा छन्’, उहाँले भन्नुभयो।
अहिले मुलुकमा शान्ति, समृद्धि, स्थिरता र सुशासनको लागि एमालेले सरकारको नेतृत्व गरेको उहाँले बताउनुभयो। आफ्नो स्वार्थका लागि समाजलाई उत्तेजित बनाउने काम नगर्न पनि महासचिव पोखरेलले आग्रह गर्नुभयो।


