काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अध्यक्षमा हेमन्त बस्याल नियुक्त भएका छन् । अर्थ मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट उनी तीन वर्षको कार्यकालका लागि अध्यक्षमा नियुक्त भएका हुन् ।
लामो समयदेखि अध्यक्षविहीन रहेको नेप्सेमा शोभाकान्त पौडेल सहसचिवबाट सचिवमा बढुवा भएपछि यो पद रिक्त थियो ।
नेप्सेको अध्यक्षमा नियुक्त हुनुअघि बस्याल एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए । उनले केही दिनअघि मात्रै व्यक्तिगत कारण देखाएर उक्त पदबाट राजीनामा दिएका थिए । उनले करिब दुई वर्षअघि सो कम्पनीको सीईओको जिम्मेवारी सम्हालेका थिए ।
बस्यालले यसअघि पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डको अध्यक्ष र नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि पनि आवेदन दिएका थिए ।


