४ आश्विन २०८१, शुक्रबार 1726880450
Banner

चुनावमा मृत्यु भएकाका परिवारलाई राहत र क्षतिपुर्ति दिन गृहमन्त्रीको निर्देशन

काठमाडौँ — गृहमन्त्री बालृकष्ण खाँणले स्थानीय तह निर्वाचनको क्रममा देशैभरि भएका घटनामा परी घाइते र मृत्यु भएकाहरुका परिवारलाई तत्काल राहत र क्षतिपुर्ति दिलाउन निर्देशन दिएका छन् । बिहीबार राष्ट्रिय सुरक्षा समितिको बैठकमा गृहमन्त्री खाँणले चुनावमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी र कर्मचारीहरुलाई धन्यवाद दिँदै निर्वाचनको महत्वलाई बुझेर जनतालाई सुरक्षा दिने चुनौतीपूर्ण जिम्मेवारी निभाएकोमा सुरक्षाकर्मीहरुलाई धन्यवाद दिए ।मन्त्रालयका सहसचिव फणिन्द्र पोखरेलका अनुसार मन्त्री खाँणले निर्वाचनका क्रममा घाईते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृत्यु भएकाहरुप्रति दुःख व्यक्त गरेका थिए ।

उनले मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने प्रक्रिया शीघ्र अघि बढाउन निर्देशन दिएका छन् ।

‘हामीले गत वैशाख ३० गते स्थानीय तह सदस्यको निर्वाचन एकै चरणमा सक्यौँ । एकै चरणमा निर्वाचन सम्पन्न गर्दा हाम्रो सुरक्षाकर्मीहरु, खास गरेर नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी खट्नुभयो । कर्मचारीहरु खट्नुभयो । मुलतः राज्य नै त्यसमा खट्यो । हामीले त्यस चरणमा गरेका काम कारबाहीहरुमा सबैबाट सक्रिय सहयोग भएकोले सबैलाई धन्यवाद ज्ञापन गरिएको छ,’ सहसचिव पोखरेलले भने ।