१ जेष्ठ २०८३, शुक्रबार 1778907103
Banner

सल्यानमा जीप दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं । राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। घटनामा दुई जना घाइते भएका छन्।

रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङको घोराहीतर्फ आउँदै गरेको लु २ ख ६५०२ नम्बरको फोर्स जीप आज बिहान करिब ४ बजे सडकबाट करिब ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। रुकुम पश्चिम बाफिकोट–५ का अन्दाजी २५ वर्षीय प्रकाश केसी, सोही ठाउँकै अन्दाजी ६८ वर्षीया पबी केसी र अन्दाजी २७ वर्षीय शशीधर केसीको मृत्यु भएको छ ।

घाइते हुनेहरूमा बाफिकोट–५ का अन्दाजी ४७ वर्षीय खगेन्द्र केसी र ३६ वर्षीया बिना केसी रहेका छन्। उनीहरूको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ। दुवैलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बिहान ६ बजेतिर बाँकेको नेपालगञ्ज पठाइएको छ। प्रहरीका अनुसार राति १० बजे कपुरकोट चेकपोइन्टमा इन्ट्री गरेको विवरणअनुसार गाडीमा तीन पुरुष र दुई महिला गरी पाँच जना सवार थिए।

दुर्घटनापछि प्रहरी चौकी कपुरकोटबाट प्रहरी सहायक निरीक्षक गोपालबहादुर वलीको कमाण्डमा सात जनाको टोली घटनास्थलतर्फ खटिएको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङको नेतृत्वमा थप नौ जना परिचालित गरिएको थियो।

दुर्घटनास्थल प्रहरी चौकी कपुरकोटबाट करिब ६ किलोमिटर दक्षिण र इलाका प्रहरी कार्यालय लुहामबाट करिब २६ किलोमिटर पूर्वतर्फ पर्दछ। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।