काठमाडौं, २ कात्तिक । काग तिहारको अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको नारायणहिटी गेट अगाडि ‘२२औं काग सम्मेलन’ भव्य रुपमा सम्पन्न गरेका छन् ।
टप राजधानी रोधी र ग्रीनसिटी अस्पताल बसुन्धाराको सहआयोजनामा भएको कार्यक्रममा दुलालले आफ्नो विशेष कला प्रस्तुत गर्दै हजारौं कागलाई आकर्षित गरे । बिहान पौने ६ बजे सुरु भएको कार्यक्रममा उनले कागको आवाज निकाल्नासाथ हजारौं कागहरू आकाशबाट झर्दै भेला भएका थिए ।

दुलालले कागसहित हालसम्म १७३ प्रकारका जनावर र चराचुरुङ्गीका आवाजहरू नक्कली रूपमा निकाल्न सक्छन् । साथै, उनले मुखकै सहायताले मादल, सनाई, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा र गितारको धुन समेत प्रस्तुत गर्न सक्छन् ।
उनका अनुसार, विगतका वर्षहरूमा उनले कहिले रत्नपार्कस्थित शान्ति बाटिकामा, कहिले एयरपोर्ट परिसरमा, त कहिले सामाजिक सन्देशसहित ‘काग सम्मेलन’ गर्दै आएका छन् ।
दुलालले भने, ‘काग तिहारको दिन काग सम्मेलन गर्न थालेको अहिले २२ वर्ष भयो । कागलाई यमराजको दूतका रूपमा मानिन्छ । यसपटक भने शुद्ध सांस्कृतिक उद्देश्यले यो सम्मेलन गरेको हुँ ।’
काग तिहारलाई धार्मिक र सांस्कृतिक दुवै अर्थमा मनाइने परम्परालाई जोगाउन तथा जनचेतना जगाउन दुयो कार्यक्रम गरेको उनले बताए ।


