काठमाडौँ आर्थिक विकासमा पछाडि रहेको हुम्ला जिल्लामा कुल ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ।
हाल सो आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) को काम अगाडि बढाइएको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिसमा वन तथा वातावरण मन्त्रालयले इआइएको काम अगाडि बढाएको हो। सो आयोजना रुरु जलविद्युत् परियोजनाले निर्माण गर्ने छ।

आयोजना हुम्लाको खार्पूनाथ गाउँपालिका र सर्केगाड गाउँपालिकामा अवस्थित छ। वन तथा वातावरण मन्त्रालयले यसअघि नै सार्वजनिक सूचनामार्फत इआइएमा आवश्यक सुझा तथा सल्लाह दिन आग्रह गरिसकिएको जनाएको छ।
आयोजना निर्माणका लागि कूल ४७ दशमलव १३ हेक्टर जमिन आवश्यकता पर्ने छ। विद्युत् उत्पादनअन्तर्गत ५० मेगावाटभन्दा बढी क्षमताको जलविद्युत् आयोजनाकाका लागि वातावरण संरक्षण ऐन, २०७६ अनुसार वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने प्रावधान रही आएको छ। सोहीअनुसार इआइएको काम अगाडि बढाइएको र हाल मन्त्रालयले आवश्यक अध्ययन गरिरहेको छ।
नदी प्रवाहमा आधारित सो आयोजना कर्णाली नदी बेसिनको एक प्रमुख आयोजना हो। बाह्रेमासे हिमनदीका रूपमा परिचित हुम्ला कर्णालीमा निर्माण हुने भएकाले पनि यस आयोजनालाई महत्त्वपूर्ण रूपमा हेरिएको हो।
प्रस्तावित आयोजनाको डिजाइन डिस्चार्ज ११८.७० घनमिटर प्रति सेकेन्ड रहेको छ। आयोजनामा दुई वटा डाइभर्सन सुरुङ निर्माण हुनेछ। डाइभर्सन सुरुङको लम्बाई ५४५ मिटर र ५४२ मिटर रहनेछ। डाइभर्सन सुरुङको व्यास ९.५ मिटर रहनेछ।
आयोजनाबाट सुक्खायामका ६०९.८९ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ भने वर्षा याममा एक हजार १८४.८३ गिगवाटा घण्टा ऊर्जा उत्पादन हुनेछ।
आयोजनाबाट उत्पादित बिजुली २० किलोमिटर लामो डबल सर्किट चार सय केभी क्षमताको प्रसारण लाइनमार्फत मुगु कर्णाली हबमा जोडिनेछ। आयोजना निर्माण हुँदा ५६ घरधुरी प्रभावित हुनेछन्। यस्तै एक सय ८८ वटा रुख कटान गर्नुपर्नेछ।
आयोजनाको प्रतिमेगावाट लागत २१ करोड ७६ लाख बराबर रहेको छ। यसको कुल लागत ७२ अर्ब ९० करोड ८० लाख रुपैयाँ रहनेछ। आयोजना निर्माण चरणमा औसत एक हजार ८०५ जना र सञ्चालन चरणमा ११५ जनाले रोजगारी प्राप्त गर्नेछन्।


