१२ श्रावण २०८३, मंगलबार 1785260430
Banner

नेपाली महिला फुटबल टोलीले आज इरानसँग खेल्दै

काठमाडौं : नेपाली महिला फुटबल टोलीले आज इरानसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ।  भारतको शिलोङस्थित जवाहरलाल नेहरु रंगशालामा हुने खेल साँझ सवा ६ बजेदेखि सुरु हुनेछ।

नेपालले उज्बेकिस्तानमा महिला एसियन कप छनोट खेलेपछि पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो। यी खेलका लागि विदेशमा व्यावसायिक फुटबल खेलिरहेका प्रिति राई, सावित्रा भण्डारी साम्बा, पूजा राई तथा एन्जिला तुम्बापो सुब्बा टिममा सामेल भएका छन्। 

नवनियुक्त प्रशिक्षक नबिन न्यौपानेको यो पहिलो खेल हो। प्री म्याच कन्फरेन्समा न्यौपानेले अट्याकिङ रणनीतिका साथ मैदानमा उत्रिने र यी मैत्रीपूर्ण खेलमा नयाँ खेलाडी परीक्षण गर्ने जानकारी दिए।

नेपाली टोलीले १० गते भारतसँग दोश्रो मैत्रीपूर्ण खेल खेल्ने छ। त्यसपछि १३ कात्तिकमा भारतसँग अर्को एक अनअफिसियल खेल पनि हुनेछ।  फिफाको वरियतामा भारत ६३औं, इरान ७०औं तथा नेपाल ८९औं स्थानमा छन्। 

नेपालले इरानसँग यसअघि सन् २०१९ मा भारतमा नै आयोजना भएको हिरो महिला गोल्डकपमा खेलेको थियो। उक्त खेलमा नेपाल तीन–शून्यले विजयी भएको थियो। उक्त खेलमा सावित्राले दुई गोल गरेकी थिइन् भने अनिता बस्नेतको नाममा एक गोल थियो।