काठमाडौं, १२ कात्तिक । विराटनगर किंग्सले आफ्नो १५ सदस्यीय टिमलाई दुई हप्ताको हाइपर्फर्मेन्स ट्रेनिङका लागि भारतको मुम्बईस्थित अन्तर्राष्ट्रियस्तरको सुविधा भएको ओमटेक्स आइसीडब्ल्यूसी क्रिकेट इन्स्टिच्युटमा पठाएको छ ।
मंगलबार प्रस्थान गरेको टिमका लागि यो प्रशिक्षण आगामी नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को तयारीमा महत्वपूर्ण कदम मानिएको छ । प्रशिक्षण अवधिभर खेलाडीहरूले अभ्यास, फ्रेन्ड्ली खेलहरू तथा व्यवसायिक कोचहरूको निर्देशन प्राप्त गर्नेछन्, जसले उनीहरूको खेल कौशल र टिमवर्क सुधार गर्ने अपेक्षा गरिएको छ।
मुम्बईको ओमटेक्स आइसीडब्ल्यूसी क्रिकेट इन्स्टिच्युट अत्याधुनिक सुविधा र उच्चस्तरीय प्रशिक्षण कार्यक्रमका लागि परिचित छ । खेलाडीहरूलाई श्रीलंकन तथा अन्तर्राष्ट्रिय अनुभवप्राप्त कोचहरूले तालिम र कन्सल्टेसन प्रदान गर्नेछन् ।
यस अन्तर्राष्ट्रियस्तरको एक्स्पोजरले खेलाडीहरूलाई उच्चस्तरको क्रिकेटका लागि आवश्यक कुराहरू बुझ्न मद्दत गर्ने विराटनगर किंग्सको विश्वास छ ।
टोलीले फ्लडलाइटको उज्यालोमा पनि अभ्यास गर्नेछ, जसले रातिको खेलमा खेल्ने अनुभव पनि बढाउनेछ । यसले विभिन्न खेल परिस्थितिमा खेलाडीहरूलाई सहज हुन मद्दत पुर्याउने अपेक्षा गरिएको छ ।
विराटनगर किंग्सले यस पहललाई खेलाडी विकासका लागि ठूलो लगानीको रुपमा हेरेको छ । व्यवस्थापनको विश्वास छ कि यस्ता अवसरहरूले खेलाडीहरूको व्यक्तिगत प्रदर्शन मात्र होइन, टिमको प्रतिस्पर्धी क्षमता पनि बढाउनेछ र टोली अझ सक्षम र आत्मविश्वासी बनेर फर्किने र गौरवका साथ विराटनगर किंग्सको प्रतिनिधित्व गर्नेछ ।


