कपिलवस्तु । जिल्लाको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा गएराति बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार बुधबार राति करिब २ बजे काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५०६ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको हो।
बसले बाटो क्रस गर्दै गरेका एक पैदलयात्रीलाई ठक्कर दिँदा अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिनुभयो। दुर्घटनामा करिब ५० देखि ५५ वर्ष उमेरका ती पैदलयात्रीको घटनास्थलनजिकै मृत्यु भएको थियो। उपचारका लागि आधारभूत अस्पताल चन्द्रौटा पुर्याइएको भए पनि चिकित्सकले बिहान करिब ३ बजे मृत घोषित गरेका हुन्।
बसमा सवार पाँच जना यात्रु घाइते भएका छन्। उनीहरूको सञ्जिवनी सामुदायिक अस्पताल, चन्द्रौटामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घाइते हुनेहरूमा कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका ७ को ४३ वर्षीय जग्गुराम दगौरा, काठमाडौँको बुढानिलकण्ठ नगरपालिका ६ का ४५ वर्षीय टेकेन्द्र खत्री, कञ्चनपुर भिमदत्त नगरपालिका १० का २४ वर्षीय भरत नाथ, कञ्चनपुर लालघारी गाउँपालिका १ का ३६ वर्षीय भिम बहादुर चौधरी र कञ्चनपुर गुलरिया नगरपालिका ४ की १४ वर्षीय रितु लोहार रहेको प्रहरीले जनाएको छ । बसमा करिब ३५ जना यात्रु सवार रहेको र बस चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएकाे छ ।


