
हेटौँडा । अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ ज्यामिरेमा पहिरो खस्दा कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्ड अवरुद्ध बनेको छ ।

कात्तिक १४ गतेदेखि निरन्तर परिरहेको वर्षाका कारण शनिबार साँझ गएको पहिरोले सडक पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सडक अवरुद्ध भएपछि काठमाडौं–हेटौँडा आवागमन ठप्प भएको छ । काठमाडौंबाट हेटौँडा तर्फ आउने र हेटौँडाबाट काठमाडौँ जाने सवारीसाधनहरू बिच बाटोमै रोकिएका छन् ।
मकवानपुर प्रहरीका अनुसार पहिरो खसेको स्थानमा डोजर र जनशक्ति परिचालन गरी बाटो खुलाउने प्रयास भइरहेको छ । निरन्तर वर्षाका कारण माटो भिजेको र ढुंगामाटो झर्ने क्रम जारी रहेकाले बाटो खुलाउन कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।
मौसम अनुकूल बनेपछि सडक सुचारु गर्न सकिने अनुमान गरिएको छ । प्रहरीले यात्रुहरूलाई आवश्यक नपरी यो सडक प्रयोग नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह समेत गरेको छ ।


