३ जेष्ठ २०८३, आइतबार 1779054128
Banner

जनताले कागजको चिर्कटो बोकेर हिँड्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ : सञ्चारमन्त्री खरेल

बनेपा । सूचना प्रविधि तथा सञ्चारमन्त्री जगदीश खरेलले आगामी ६ महिनाभित्र २० देखि २५ लाख थान लाइसेन्स छाप्ने लक्ष्य राख्नुपर्ने बताएका छन्  । शुक्रबार काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको औपचारिक शुभारम्भ गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले लाइसेन्स खरिद प्रक्रियालाई पारदर्शी र चुस्त बनाउन सके ३ महिनामै ३ लाख लाइसेन्स छाप्न सकिने बताए । यातायात व्यवस्था विभागसँगको सहकार्यमा तथ्याङ्क उपलब्ध भएसम्म छपाइको काम नरोकिने उनको भनाइ थियो । मन्त्री खरेलले अब छापिइने लाइसेन्स गुणस्तरीय हुनुका साथै लागत पनि घट्ने बताए ।

विगतमा अर्बौंको लगानी भएर पनि विभिन्न विवाद, भ्रष्टाचारका आरोप र मुद्दा मामिलाका कारण मुद्रण केन्द्र अलपत्र परेको स्विकार्दै मन्त्री खरेलले आफूले जोखिम मोलेरै यो काम अघि बढाएको बताए । उनले भने- ‘यहाँ यति धेरै विवाद थियो कि एक जना इमानदार कर्मचारी काम गर्न डराउँथ्यो । तर जोखिम कसै न कसैले बोल्नुपर्थ्यो । अर्बौंको लगानी र ५० करोडभन्दा बढीका मेसिनहरू धुलोमा मिल्किन दिनु हुँदैनथ्यो ।’

मन्त्री खरेलले सुरक्षण मुद्रण केन्द्रलाई सरकारका लागि घाँडो वा बोझको रूपमा नभई अर्बौंको व्यापार गरेर राज्यलाई कर तिर्ने व्यावसायिक संस्थाको रूपमा विकास गरिने स्पष्ट पारे । ‘यो केन्द्रले लाइसेन्स मात्र होइन, राहदानी, राष्ट्रिय परिचयपत्र, लालपुर्जा, हुलाक टिकट र बैंकका एटिएम कार्डसम्म छाप्न सक्छ,’ उनले भने, ‘यसले देशको अर्बौं रुपैयाँ बिदेसिनबाट जोगाउँछ र आफैँमा नाफामूलक संस्था बन्छ ।’ उनले यो महत्त्वपूर्ण कामको सुरुवात भएको र आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहेको बताउँदै निरन्तर अनुगमन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

करिब ३० लाख सेवाग्राही लाइसेन्सको पर्खाइमा रहेको अवस्थामा यो कदमले सुशासनको अनुभूति दिलाउने र नागरिकको हैरानी अन्त्य गर्ने मन्त्री खरेलले विश्वास व्यक्त गरे । ‘करिब–करिब खण्डहर जस्तो देखिएको यो परिसरको धुलो टकटक्याउँदै हामीले आजबाट ड्राइभिङ लाइसेन्स छपाइको प्रारम्भ गरेका छौँ,’ मन्त्री खरेलले भने, ‘यो सुशासनको प्रत्याभूति दिने एउटा महत्त्वपूर्ण सुरुवात हो । अब जनताले कागजको चिर्कटो बोकेर हिँड्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ ।’