काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक पुनरुत्था नका लागि निजी क्षेत्रलाई सुरक्षासहित प्रवर्द्धन गर्न सरकारसँग आग्रह गरेका छन् ।

महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक बहसमा बोल्दै अध्यक्ष ढकालले पछिल्ला आन्दोलन र आगजनीबाट निजी क्षेत्र गम्भीर रूपमा आहत भएको उल्लेख गर्दै दण्डहीनता अन्त्यका लागि कठोर कदम चाल्नुपर्ने बताएका हुन्। उनका अनुसार मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत छ । “व्यवसायीमाथि आक्रमणले राष्ट्रकै मेरुदण्ड कमजोर बनाउँछ,” ढकालले भने, “राज्यले सुरक्षासँगै निजी क्षेत्रको मनोबल बढाउने पहल गर्नुपर्छ ।”
उनले सुशासन, रोजगारी सिर्जना, युवा उद्यमशीलता प्रवर्द्धन र पूर्वाधार विकासमा सरकार–निजी क्षेत्र सहकार्य अपरिहार्य रहेको बताए । ढकालले अर्थतन्त्रमा देखिएको चुनौती पार गर्न कर सुविधा, लगानी प्रोत्साहन, अवैध आयात नियन्त्रण र स्टार्टअप नीतिको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उल्लेख गरे ।
उनले हालैको आन्दोलनमा करिब ८८ अर्ब बराबरको क्षति भएको बताउँदै, पुनर्निर्माणका लागि सरकारले तदारुकता देखाउनुपर्नेमा जोड दिए ।

लगानीमैत्री वातावरणमा जोड
ढकालले सुशासन, कर प्रणाली सरलीकरण, युवा उद्यमशीलता प्रवर्द्धन र लगानीमैत्री नीति कार्यान्वयनमा सरकारले तदारुकता देखाउनुपर्ने बताए । उनले भने, “सरकारले निजी क्षेत्रको मनोबल बढाउने वातावरण बनाउन सके मात्र आर्थिक पुनरुत्थान सम्भव छ।”
उनले कोभिड महामारीको समयमा समेत व्यवसायीहरूले कर तिरेको, रोजगारी जोगाएको र अर्थतन्त्रलाई चलायमान राख्न सहयोग गरेको स्मरण गराए ।
ढकालका अनुसार निजी क्षेत्र अहिले पनि जिम्मेवार र पुनर्निर्माणतर्फ उन्मुख छ ।


