१० श्रावण २०८३, आइतबार 1785087340
Banner

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बस्नेगरी अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका हुन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । त्यसबाहेक सचिवालय बैठकमा मङ्सिर ६ गते काठमाडौँमा गर्ने प्रदर्शनका बारेमा समेत छलफल हुने बुझिएको छ ।

नेकपा एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि सडक र अदालत दुवैबाट दबाब दिने बताउँदै आएको छ । प्रतिनिधि सभा पुनर्स्थापनाका लागि आन्दोलन गर्ने घोषणा गरेको एमालेले फागुन २१ लाई तोकिएको प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले मङ्सिर १० गतेसम्म तोकेको समयमा दल दर्ता गर्छ गर्दैन भन्ने चासो रहेको छ । एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर २७, २८ र २९ गते काठमाडौँमा हुदैछ । महाधिवेशनका लागि एमालेले मङ्सिर १३ गते एकै दिन प्रतिनिधि छनोट गर्दै छ ।