१३ श्रावण २०८३, बुधबार 1785324610
अर्थ

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नौ करोड ३० लाख जम्मा

काठमाडौँ । सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा जन सहभागिताको उत्साहजनक योगदान भइरहेको छ। आइतबार लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले रु एक करोड एक लाख बराबर रकम कोषमा जम्मा गरेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले उक्त रकमको भौचर अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरे। यसैगरी, एफवान सफ्ट ग्रुप अन्तर्गत एफवान सफ्ट इन्टरनेशनल, इसेवा लिमिटेड र फोनपे पेमेण्ट सर्भिस लिमिटेडका कर्मचारीहरूको संयुक्त योगदानको रूपमा रु ७५ लाख बराबरको चेक पनि अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको थियो। सो चेक ग्रुपका अध्यक्ष सिद्धान्त ठकुरीले मङ्सिर ३ गते अर्थमन्त्रीलाई हस्तान्तरण गरेका थिए।

अर्थमन्त्री खनालले दुवै कम्पनीलाई भौतिक पूर्वाधार पुनर्निर्माणमा योगदान दिएकोमा विशेष धन्यवाद ज्ञापन गरेका छन्। अर्थमन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार आइतबारसम्म उक्त कोषमा जम्मा रकम रु नौ करोड ३० लाख पुगेको छ।