काठमाडौँ : बागमती प्रदेशका पूर्वमन्त्री एवं प्रदेश सभा सदस्य मदुकुमार श्रेष्ठले बाढीले बगाएका पुलहरूको पुनर्निर्माण तत्काल अघि बढाउन प्रदेश सरकारसँग माग गरेका छन्। उनले भोटेकोसी क्षेत्रमा आएको बाढीका कारण क्षति पुगेका पुलहरूको पुनर्निर्माण र धादिङको फुर्के खोलामा पुल निर्माण गर्न माग गर्दै मुख्यमन्त्री सहित सम्बन्धित मन्त्रीहरूलाई पत्र पठाएका हुन्।
श्रेष्ठले सोमबार मुख्यमन्त्री किरण थापामगर, आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेल र भौतिक पूर्वाधार विकास मन्त्री भरत केसीलाई इमेलमार्फत पत्र पठाएको बताएका छन्। उनले सम्बन्धित मन्त्रीहरूलाई स्वयं उपस्थित भएर पनि पत्र बुझाउने तयारी गरेको बताए।
बाढीका कारण त्रिशूली नदीलगायत विभिन्न स्थानका पुल बगाएको लामो समय बितिसक्दा पनि पुनर्निर्माण हुन नसक्दा स्थानीयले सास्ती भोग्नुपरेको श्रेष्ठले पत्रमा उल्लेख गरेका छन्। पुल नहुँदा दैनिक आवागमन, शिक्षा, स्वास्थ्य सेवा, कृषि तथा आर्थिक गतिविधिमा समेत असर परेको उनको भनाइ छ।
अत्यावश्यक पूर्वाधार निर्माण संघीय सरकारको मात्रै जिम्मेवारी नभई प्रदेश सरकारको पनि दायित्व र कर्तव्य भएको उल्लेख गर्दै श्रेष्ठले संघीय सरकारको मुख ताकेर बस्नुभन्दा प्रदेश सरकारले आवश्यक पहल र समन्वय गरी निर्माणको काम अघि बढाउनुपर्ने बताएका छन्।
त्यस्तै, मलेखुदेखि धादिङबेसी सदरमुकाम जोड्ने सडकअन्तर्गत फुर्के खोलामा पुल नहुँदा स्थानीय बासिन्दाले आवतजावतमा कठिनाइ भोग्नुपरेको भन्दै उनले पुल निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्न माग गरेका छन्।
श्रेष्ठले बाढीबाट बगेका पुलहरूको पुनर्निर्माण शीघ्र अघि बढाउनुका साथै फुर्के खोलामा पुल निर्माणको काम यथाशीघ्र सुरु गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्।

