काठमाडौं, ८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा अवैध अनलाइन सट्टेबाजीमा २ करोड रूपैयाँभन्दा बढीको कारोबार भएको पाइएको प्रहरीले जानकारी दिएको छ । काठमाडौं प्रहरी परिसरले सोमबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराएको हो । प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले एनपीएल चलिरहेको बेला राजधानीमा सक्रिय अनलाइन बेटिङ समूहहरूविरुद्ध काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष अभियान सञ्चालन गर्दै १० जनालाई पक्राउ जानकारी दिए ।
अनुसन्धानका क्रममा डिजिटल वालेटहरूमा करिब २ करोड ५ लाख रूपैयाँ बराबरको कारोबार भएको प्रमाण फेला परेका प्रहरी उपरीक्षक भट्टराईले बताए । स्टेक डटकम, बेडबुक डटकमलगायतका वेबसाइटहरू तथा यससँग सम्बन्धित अन्य एप्लिकेसनहरू अनलाइन बेटिङका लागि प्रयोग गरिएको भट्टराईको भनाइ छ । नेपाल प्रहरीले अनलाइन जुवा र डिजिटल माध्यमबाट हुने आर्थिक अपराधहरूलाई नियन्त्रणमा ल्याउन थप अनुसन्धान र कारबाही जारी राख्ने जनाएको छ ।


