काठमाडौं, १० मंसिर । घनश्याम भुसालले नेतृत्व गरेको एकीकृत समाजवादी पुनर्गठन अभियानमा पुरानो वाम घटक नेकपा संयुक्त पनि समावेश हुने भएको छ । उक्त पार्टीको नेतृत्व वयोवृद्ध नेता चन्द्रदेव जोशीले गर्दै आएका छन् ।
माओवादी केन्द्रसहितका घटकसँग एकता गर्ने माधवकुमार नेपालको समूहबाट अलग भएको तत्कालीन नेकपा एकीकृत समाजवादीका महासचिव भुसालले पुनर्गठन अभियानमा संयोजकको जिम्मेवारी पाएका छन् ।
उनले विभिन्न वाम घटकबीच एकता र रूपान्तरणका निम्ति चलाएको वार्ताको फलस्वरूप जोशी नेतृत्वको पार्टीसँग एकताको टुंगो लागेको अभियानसम्बद्ध नेता अमृतसागर बस्नेतले बताए ।
एकताको औपचारिक घोषणा बिहीबार दिउँसो १२ बजे एक पत्रकार सम्मेलनबाट गरिने भएको छ । भुसालको नेतृत्वमा अन्य वाम–प्रगतिशील समूहसँग पनि घनीभूत छलफल चलिरहेको बस्नेतले बताए ।


