काठमाडौँ । नेपालस्थित भारतीय दूतावासले संविधान दिवस मनाएको छ । भारतको संविधान १९४९ नोभेम्बर २६ दिन घोषणा भएको थियो । सोही दिनको सम्झनामा भारतीय दूतावासले बुधवार दिवस मनाएको हो ।
नेपालस्थित दूतावासमा कार्यरत कर्मचारीहरूले संविधानको प्रस्तावना पढेर कार्यक्रम गरेका थिए । संविधानलाई बहुमूल्य दस्ताबेजको रूपमा स्वीकार गर्दै उनीहरूले त्यसको मूल्यमान्यता र आदर्शलाई कायम राख्नका लागि प्रस्ताव पढेर सुनाइएको दूतावासले जनाएको छ । दूतावासभित्र रहेको केन्द्रीय विद्यालयमा भारतीय संविधानको विषयमा विद्यार्थीमाझ चर्चा परिचर्चा गरिएको थियो ।
भारतीय संविधान सभामार्फत १९४९ नोभेम्बर २६ संविधान घोषणा भए पनि १९५० जनवरी २६ देखि लागु गरिएको थियो । जनवरी २६ मा भारतले गणतन्त्र दिवस मनाउँछ । सोही उपलक्ष्यमा संविधानलाई पनि कार्यान्वयनमा ल्याएको थियो । भारतमा पहिलो पटक सन् २०१५ मा संविधान दिवस मनाइएको थियो । त्यसपछि प्रत्येक वर्ष मनाइँदै आएको छ । भारतमा संविधान सभाबाट संविधान निर्माण गर्न दुई वर्ष ११ महिना लागेको थियो ।


