काठमाडौँ । सबैका लागि सामाजिक सुरक्षा आधारभूत मानवअधिकार विषयमा अन्तर सरोकारवाला निकायबीच अन्तरक्रिया गरिएकाे छ । सो अन्तरक्रियामा सरोकारवालाले सामाजिक सुरक्षा कोषमा आबद्धता वृद्धि गर्न नागरिकलाई सचेतना जरुरी रहेको कुरामा जोड दिए ।

इन्सपायर नेपाल, सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल र होमनेट नेपालको आयोजनामा आज यहाँ सामाजिक सुरक्षामा सबै नागरिकलाई आबद्ध बनाउने विषयमा अन्तक्रिया गरिएकाे छ ।
कार्यक्रममा सामाजिक सुरक्षा कोषका सहायक निर्देशक चिरञ्जीवी न्यौपानेले योगदानमा आधारित सामाजिक सुरक्षामा श्रमिकलाई आबद्ध गराइएको भएपनि कार्यविधिको जटिलताले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई समेट्न कठिन भएको कुरा बताए ।
श्रम विभागका अधिकृत रामसुन्दर थापाले विभागले श्रमिकको लेखाजोखा गर्नेदेखि सामाजिक सुरक्षा कोषमा आबद्ध भएको र नभएको विषयमा बेला बखत अनुगमन गर्ने गरेको जानकारी दिए । संविधानसभा सदस्य पेम्बा लामाले सामाजिक सुरक्षामा श्रमिकको उपस्थिति अवस्थाबारे कार्यपत्र प्रस्तुत गरे । जसमा उनले अधिकांश महिला श्रमिक सुरक्षा कोषबाट वञ्चित भएको बताउँदै लैङ्गिकमैत्री बनाउन सरकारले विशेष कार्य योजना ल्याउनुपर्नेमा जोड दिए ।
सामाजिक सुरक्षा नागरिक समाज सञ्जालका अध्यक्ष डोल्मा तामाङले सन् २०१२ देखि सुरु भएको सामाजिक सुरक्षा योजनाले अझै श्रमिकको पहुँचसम्म पुग्न नसकेको बताइन् । यसका लागि जनचेतनालाई नागरिकस्तरसम्म पुर्याउने अभियानमा जोड दिनुपर्ने उनको धारणा थियो ।


